Tuesday, March 6, 2018

'भजाइना मोनोलग्स': महिला यौन अधिकारको लागि कलात्मक आवाज


अमेरिकी नाटककार इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक हो ‘द भजाइना मोनोलग्स’। महिला यौन अधिकारको विषय उठाइएको नाटक पहिलोपटक अमेरिकाको द वेस्टसाइड थिएटरमा मञ्चन भएको थियो। महिलाको यौन अधिकार, समस्या, स्वतन्त्रता, यौन तथा प्रजनन स्वास्थ्य र यौन हिंसा विरुद्धको आवाज यो नाटकले उठाउँछ। विश्वभरका १४० देशका हजारौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएका छन्। 
नेपालीमा पनि परिकल्पना, अनुवाद, निर्देशन र मञ्चन गरियो। जसका लागि अनुवादमा काम गरे प्रतिक्षा कट्टेल, सभ्यता तिम्सिना, गुञ्जन दिक्षित र आकांक्षा कार्कीले। निर्देशन आकांक्षा कार्की र गुञ्जन दिक्षितले संयुक्त रुपमा गरेका हुन्। महिला रंगकर्मीहरुको समुह मडलेनाज नेपालले पहिलोपटक २०७२ मा यौनीका कुराहरु नाम दिएर यो नाटक मञ्चन गरेको थियो। ७८ वर्ष पहिले अमेरिकी नाटककारले उनको समाजमा महिलाको यौन, यौनिकता र यौनांगलाई समस्याको रुपमा बुझेको पाइन् र उक्त विषयको अध्ययनका लागि २०० भन्दा बढी महिलासँग अन्तर्वाता लिइन्। मुख्यत: महिलाहरुले यौन, सम्बन्ध र लैंगिक हिंसालाई कसरी बुझ्छन् र कसरी व्याख्या गर्छन् भन्ने कुरा थाहा पाउनु उनको उदेश्य थियो। अन्तर्वातको क्रममा भेटिएका रोचक र प्रतिनिधि कथा बन्न सक्ने अनुभवहरुलाई संकलन गरिन्। र नाम दिइन् 'द भजाइना मोनोलग्स'। दु:खद पाटो के छ भने वर्षौअघि सामाजिक समस्याको रुपमा बुझिएर लेखिएको नाटक आजको समाजमा पनि सान्दर्भिक छ। जहाँ यौन समस्या र यौन हिंसाको बारेमा खुलेर बौलिँदैन। नाटक द भजाइना मोनोलग्सले कलात्मक रुपमा महिलालाई यौन, यौनिकता र यौनांगसँग सम्बन्धित समस्या, हिंसाको बारेमा खुलेर बोल्न लगाउँछ। 
नाटकमा विभिन्न उमेर र पृष्ठभूमिका महिलाहरुले आफ्नो यौनसँग जोडिएका नमिठा, रोचक, दु:खद र रमाइला घटनाहरु सुनाउँछन्। १४ वटा मोनोलगहरु फरक फरक पात्रहरुमार्फत प्रस्तुत हुन्छन्। यौनीको क्यान्सर पिडित वृद्धाको कथा जो यौनआनन्दबाट बञ्चित रहिन्, ‘क्लिटोरिस’  काटिएकी युवतीको भोगाइ,  तेस्रोलिङ्गी भएकै कारण भोग्नु परेको अवहेलना, दाइबाट बलात्कृत किशोरीको कथा, श्रीमानले दिने यातनाका कारण गर्भ गुमाएकी महिलाको रोदन आदी नाटकमा प्रस्तुत हुने कथाहरु हुन्। जुन कथाहरु महिला यौन अधिकारसँग जोडिएका छन्। नाटकले यौन र यौनिकता अश्लिल विषय होइनन्, यी विषयमा खुलेर छलफल गरिनुपर्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ।
भजाइना मोनोलग्सले प्रश्नहरु खडा गर्छ र त्यसको जवाफ पनि दिन्छ। के छोटा लुगा र महिलाको चरित्र पर्याय हुन्? वा के महिला उदार वा अबुझ भएकै कारण बलात्कृत हुन्छे, अनि महिलाको यौन र यौनिकता अश्लिल विषय हो? जसबारे बोल्नु, समस्या राख्नु, छलफल गर्नु असामाजिक विषयको रुपमा व्याख्या हुन्छन्। 

No comments:

Post a Comment